You are viewing the translated version of सम्पत्ति माथिको दाबी.

Section 104
सम्पत्ति माथिको दाबी
(१) “प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कर दाखिला गर्नुपर्ने मितिसम्ममा सो कर दाखिला नगरेमा सो कर बक्यौता राख्ने व्यक्तिको सम्पत्तिमा नेपाल सरकारको दाबी सिर्जना भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम दाबी सिर्जना हुने सम्पत्ति माथि दाबी गर्दा विभागले देहायका कुराहरु खुलाएको लिखित सूचना सो व्यक्तिलाई दिनु पर्नेछ:-

(क) दाबी गरिएको सम्पत्तिको विवरण,

(ख) उपदफा (३) मा उल्लेख गरिए बमोजिमको दाबीको सीमा,

(ग) सो दाबीसँग सम्बन्धित कर, र

(घ) अन्य कुनै कुरा भए सो कुरा ।

(३) उपदफा (२) बमोजिम सम्पत्ति माथि दाबी गर्दा त्यस्तो व्यक्तिले बुझाउनुपर्ने कर, त्यस्तो करका सम्बन्धमा दफा ११९ बमोजिम बुझाउनुपर्ने ब्याज, दाबी र लिलाम बिक्री गर्दा लागेका खर्चहरुको हदसम्म मात्र दाबी सिर्जना हुनेछ ।

(४) उपदफा (२) बमोजिम गरिएको दाबी देहायका कार्य नभएसम्म लागू हुने छैनः-

(क) भवन तथा जग्गा जमिनको सम्बन्धमा उपदफा (६) बमोजिम दाबी दर्ता गराउन विभागले जानकारी नदिएसम्म,

(ख) अन्य प्रत्यक्ष सम्पत्तिका सम्बन्धमा विभागले दफा १०५ को उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जा नगरेसम्म, र

(ग) अन्य जुनसुकै अवस्थामा कर बक्यौता रहेको व्यक्तिलाई उपदफा (२) बमोजिमको सूचना नदिएसम्म ।

(५) कर बक्यौता रहेको व्यक्तिले बुझाउनुपर्ने उपदफा (२) बमोजिम गरिएको दाबीबाट खामिएको उपदफा (३) बमोजिमको सम्पूर्ण रकम विभागलाई बुझाएमा दाबी गरिएको सम्पत्ति फुकुवा हुनेछ ।

(६) उपदफा (२) बमोजिम विभागले कुनै जग्गा, जमिन वा भवन उपर दाबी गरेमा सम्बन्धित मालपोत कार्यालयलाई जानकारी दिनु पर्नेछ र उक्त कार्यालयले त्यस्तो जग्गा जमिन वा भवन कसैलाई बेचबिखन वा स्वामित्व हस्तान्तरण नहुने गरी रोक्का राख्नु पर्नेछ ।

(७) उपदफा (५) बमोजिम जग्गा, जमिन र भवन उपरको दाबी फुकुवा गर्नुपर्ने भएमा विभागले सोको जानकारी मालपोत कार्यालयमा दिनु पर्नेछ । त्यस्तो जानकारी प्राप्त भएपछि मालपोत कार्यालयले त्यस्तो रोक्का भएको जग्गा जमिन र भवनको फुकुवा गरिदिनु पर्नेछ ।

(८) उपदफा (३) बमोजिम लाग्ने खर्चका सम्बन्धमा विभागले यथाशीघ्र कर बक्यौता रहेका व्यक्तिलाई देहायका कुराहरु खुलाई सूचना दिनु पर्नेछः-

(क) त्यस्तो सूचना दिनु अगाडि कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री

बापत विभागले गरेका खर्चहरु, र

(ख) त्यस्ता खर्चहरु कर बक्यौता रहेको व्यक्तिले विभागलाई बुझाउनुपर्ने मिति ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च” भन्नाले देहाय बमोजिम विभागले गरेको वा गर्नुपर्ने खर्च सम्झनु पर्छः-

(क) सो सम्पत्ति उपरको दाबी सिर्जना वा फुकुवा गर्ने सम्बन्धमा यस दफा बमोजिम विभागले गरेको वा गर्नुपर्ने खर्च,वा

(ख) दाबी गरिएको सम्पत्ति कब्जामा लिने, आफूसँग राखे र लिलाम बिक्री गर्ने सम्बन्धमा दफा १०५ बमोजिम विभागले गरेको वा गर्नुपर्ने खर्च ।